२९ साउन/अर्थ र व्यापार – सञ्चालनमा नआउँदै सरकारले बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग प्रवेश गर्ने सवारी साधनहरूलाई उपभोग गरेबापत बुझाउनुपर्ने दस्तुर तोकेको छ । आगामी जनवरी महिनाबाट सञ्चालनमा ल्याउने तयारीमा रहेको सरकारले बिहीबार नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तोकेको जानकारी गराएको हो ।
बिहीबार सञ्चार मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता समेत रहेका पृथ्वीसुब्बा गुरुङले गत सोमबारको मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नागढुंगा सुरुङमार्ग मार्फत कार तथा भ्यानहरूले काठमाडौं आउँदा प्रतिपटक ६५ रुपैयाँ र जाँदा ६० रुपैयाँ प्रवेश दस्तुर तिर्नुपर्ने निर्णय गरेको मन्त्री गुरूङले जानकारी दिए ।
मन्त्रि गुरूङले जानकारी गराए अनुसार यस सुरूङ मार्गबाट प्रवेश गर्ने मिनिबस र मिनिट्रकले काठमाडौं आउँदा प्रतिपटक १ सय १५ रुपैयाँ र जाँदा ८० रुपैयाँ दस्तुर तोकिएको छ । यसैगरी, बस तथा ट्रकले काठमाडौं आउँदा २ सय ६० रूपैयाँ र जाँदा २ सय रुपैयाँ दस्तुर तिर्नुपर्ने भएको छ ।
त्यसैगरी, भारी उपकरणका सवारीसाधनका प्रवेश गर्नकालागि भने काठमाडौं आउँदा ६ सय र जाँदा २ सय ५० रूपैयाँ दस्तुर तोकिएको छ । यो सुरुङ आयोजना अहिले निर्माणको अन्तिम चरणमा छ । सरकारले आगामी सन् २०२६ देखि मात्र यस सुरुङमार्ग पूर्ण रूपले सञ्चालनमा ल्याउने आन्तरिक तयारी गरिरहेको छ ।
तपाईको प्रतिक्रिया