२८ साउन/अर्थ र व्यापार – नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल नेपाल धितोपत्र बोर्डको सञ्चालक समिति सदस्य नियुक्त भएका छन् । ढकाललाई महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बोर्ड सदस्यका रूपमा मनोनयन गरी पठाएका हुन् ।
बोर्डको नवनियुक्त सदस्य ढकालले पूँजीबजारलाई राष्ट्रिय अर्थतन्त्रको दिगो स्रोत बनाउन निजी र सरकारी सहकार्य सुदृढ बनाउने प्रतिवद्धता जनाए ।
महासंघका तर्फबाट उपाध्यक्षमा नियुक्त ढकाल भन्दाअघि महासंघका तर्फबाट गोकर्ण अवस्थी बोर्ड सदस्य रहेकोमा उनलाई फिर्ता गरिएको थियो ।
नेपाल धितोपत्र ऐन २०६३ को धारा ३ मा भएको व्यवस्था अनुरुप ढकाल सेबोनको सदस्यमा नियुक्त भएका हुन् । ऐनमा नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधि बोर्डको सदस्य हुने व्यवस्था छ ।
धितोपत्र बोर्ड सञ्चालक समितिमा अर्थ मन्त्रालय, कानुन मन्त्रालय, नेपाल राष्ट्र बैंक, नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ, उद्योग वाणिज्य महासंघबाट १–१ जनाले प्रतिनिधित्व गर्दै आएका छन् ।
बोर्ड सदस्य नियुक्त भएपछि हेमराज ढकालले पूँजीबजारलाई राष्ट्रिय अर्थतन्त्रको दिगो स्रोतको रूपमा विकास गर्न निजी क्षेत्र र सरकारी निकायबीचको सहकार्यलाई सुदृढ बनाउने प्रतिवद्धता जनाए ।
उनले बोर्ड सदयका हैसियतले पूँजी बजारको विकासका लागि आफु प्रयत्नशील रहने बताए । सेयर बजारको संरचनात्मक सुधार, पारदर्शिता अभिवृद्धि, लगानीकर्ता संरक्षण, बजारको पहुँच विस्तार र दीर्घकालीन लगानीलाई प्रोत्साहन दिने नीतिगत तथा संस्थागत पहलमा आफुले सक्दो योगदान दिने नवनियुक्त सदस्य ढकालले बताए ।
तपाईको प्रतिक्रिया