३० भदौ / अर्थ र व्यापार- स्टक ब्रोकर एशोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले नेपाल सरकारका अर्थमन्त्रीद्वारा सार्वजनिक गरिएको ‘पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ को स्वागत गरेका छन् । उनले कार्ययोजनालाई नेपालको पूँजी बजारको संरचनात्मक सुधार, लगानीकर्ता संरक्षण तथा दीर्घकालीन विकासका लागि महत्वपूर्ण नीतिगत पहल भएको बताए ।
ढकालले कार्ययोजनामा आईपिओमा मा प्राईस डिस्कभरी प्रणाली लागू गर्ने, मार्जिन लेन्डिङ तथा सर्ट सेलिङ कार्यान्वयन गर्ने, कर्पोरेट बण्ड मार्केटको विकास गर्ने, गैरआवासीय नेपाली लाई दोस्रो बजारमा लगानीको अवसर प्रदान गर्ने, संस्थागत लगानीकर्ताको सहभागिता विस्तार गर्ने तथा नेप्से, सिडिएससि र धितोपत्र दलाल व्यवसायको आधुनिकीकरण गर्ने व्यवस्था समेटिएको उल्लेख गर्दै यसले नेपालको पूँजी बजारलाई थप पारदर्शी, प्रतिस्पर्धी र लगानीकर्तामैत्री बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उनले दीर्घकालीन लगानीलाई प्रोत्साहन गर्ने उद्देश्यले ३६५ दिनभन्दा बढी अवधिसम्म धारण गरिएको धितोपत्रबाट प्राप्त पुँजीगत लाभमा ३.७५ प्रतिशत तथा ३६५ दिन वा सोभन्दा कम अवधिको लगानीमा ५ प्रतिशत पुँजीगत लाभकर कायम गर्ने व्यवस्था सकारात्मक भएको बताए ।
अध्यक्ष ढकालले दीर्घकालीन लगानी संस्कृतिलाई प्रवद्र्धन गर्नुका साथै बजारमा स्थायित्व, लगानीकर्ताको विश्वास अभिवृद्धि तथा पूँजी बजारको दिगो विकासमा टेवा पु¥याउने विश्वास व्यक्त गरे । उनले सरकारले घोषणा गरेका सुधारहरू समयबद्ध र प्रभावकारी रूपमा कार्यान्वयन भएमा पूँजी बजारप्रति लगानीकर्ताको विश्वास थप मजबुत हुने, बजारमा तरलता वृद्धि हुने तथा आर्थिक विकासमा पूँजी बजारको भूमिका अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गरे ।
त्यसका साथै उनले पूँजीबजार सुधारप्रति देखाएको प्रतिबद्धताका लागि अर्थमन्त्री, अर्थ मन्त्रालय तथा सम्बन्धित निकायप्रति आभार व्यक्त गर्दै कार्ययोजनाको सफल कार्यान्वयनका लागि स्टक ब्रोकर एशोसिएसन अफ नेपाल सरकार तथा नियामक निकायसँग आवश्यक सहकार्य गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
तपाईको प्रतिक्रिया