३ भदौ/अर्थ र व्यापार – नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले सामाजिक सञ्जालमा देखिएका सेयर किनबेच सिफारिस भ्रामक र अनधिकृत भएको बताएको छ ।
नेप्सेले कुनै पनि धितोपत्र किन्न वा बेच्न सल्लाह नदिने, प्रतिफलको ग्यारेन्टी नगर्ने, खरिद वा बिक्री गर्ने, मूल्य नतोक्ने प्रष्ट पारेको छ । नेप्सेका नाममा सामाजिक सञ्जालहरूमा सेयर बजार सम्बन्धी भ्रामक तथा अनधिकृत सामग्री, स्टक टिप्स, सेयर किनबेचका सिफारिस लगायत झुटा दाबी गरेको पाइएपछि सर्वसाधारणलाई यस्तो भ्रममा नपर्न नेप्सेले आग्रह गरेको जनाएको छ ।
हाल विभिन्न सामाजिक सञ्जालमा देखिने यस्ता ठगीका गतिविधिले सर्वसाधारण लगानीकर्ताको मनोबलमा प्रतिकूल असर पर्ने नेप्सेले जनाएको छ । यस किसिमका भ्रामक र अनधिकृत सामग्री आधार बनाइ लगानी नगर्न समेत नेप्सेले सुझाएको छ ।
नेप्सेले सूचना÷प्रेस नोट नेप्सेको वेबसाइट र आधिकारिक सामाजिक सञ्जालबाट प्रकाशित गर्ने गरेको जनाएको छ । नेप्सेको नाम अनधिकृत प्रयोग गर्ने, नेप्सेसँग मिल्दोजुल्दो नाम राखेर वेबसाइट चलाउने, एप बनाउने, च्याट ग्रुप बनाउने लगायतका कार्य दण्डनीय अपराध रहेको समेत नेप्सेले जनाएको छ ।
हल्ला, उक्साहट, अनधिकृत च्याट ग्रुप,क्लबहाउस,टेलिग्राम लगायतका आधारमा सेयर कारोबार नगर्न समेत नेप्सेले लगानीकर्तालाई सुझाएको छ । नेप्सेको नाम,लोगो,भवनको तस्वीर समेत प्रयोग गरेर एप/पेज/समूह बनाइएका माध्यमहरूमा व्यक्तिगत विवरण नदिन समेत नेप्सेले सार्वजनिक सुचना मार्फत सुझाएको छ ।
यसैगरी, कसैलाई पनि आफ्नो पासवर्ड नदिन अनुरोध गर्दै शंकास्पद सामग्री देखिए स्क्रिनसट÷लिंकसहित नेप्सेलाई जानकारी दिन समेत आग्रह गरेको छ ।
तपाईको प्रतिक्रिया