२१ साउन/अर्थ र व्यापार – यस साताको चौथो कारोबार दिन सेयर बजार लगातार घटेको छ । नेप्से परिसूचक बुधबार १.९४ अंकले घटेर २८ सय ३२ दशमलब ०६ विन्दुमा झरेको छ । यसदिन कारोबारमा लघुवित्त, लगानी र अन्य उपसमूहले बजार सूचक थामे पनि कारोबार अपेक्षाकृत बढ्न सकेन। म्युचुअल फण्डको सूचक स्थिर रहेपनि अन्य ९ वटा उपसमूहको सेयरमुल्य सूचक घटेको छ ।
लघुवित्तको सेयरमूल्य सबैभन्दा धेरै १.४१ प्रतिशतले बढेको छ । सेयरमूल्य बढेका ११२ कम्पनीका लगानीकर्ताले कमाएका छन् । वीन नेपाल लघुवित्त वित्तीय संस्था, महुली लघुवित्त र ट्रेडटावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
बजारमा १३८ कम्पनीको सेयर मूल्य घटेको छ । थ्रीस्टार हाइड्रोपावरको सर्वाधिक ३.८७ प्रतिशतले सेयर मूल्यमा गिरावट आएको छ । नेप्से सूचक सामान्य अंकले बढे पनि कारोबार रकमा गिरावट आएको छ ।
बुधबार बजारमा पछिल्लो २५ दिनयताकै न्यून ७ अर्ब ६३ करोड ११ लाख रुपैयाँको सेयर किनबेच भएको छ । यसअघि असार २५ गते ७ अर्ब ४५ करोड रुपैयाँको सेयर किनबेच भएको थियो । ङादी ग्रुपपावरको सबैभन्दा धेरै २९ करोड ४५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको २८ करोड र शिवम् सिमेन्टको २४ करोड १९ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
यसदिन अन्तिम १५ मिनेटको भारित औसत मूल्य समायोजना तथा गणनाअघि २ अंक बढेको बजार गणनापछि केही घटेर यो विन्दुमा नेप्से झरेको हो ।
तपाईको प्रतिक्रिया